Uncategorized

नारीचुली – पवनकुमारीदेवी


पवनकुमारीदेवीले औपचारिक ढङ्गबाट शिक्षा आर्जन गर्न पाइनन् । त्यसैले त्यस अन्धकारपूर्ण युगमा पनि अरू नारीहरूले निरक्षर हुन नपरोस् भन्ने धारणा उनले राखिन् । वास्तवमा पवनकुमारीले चाहेर पनि त्यस बेला औपचारिक शिक्षा लिन पाइनन् । उनका बुबा तत्कालीन समयका आर्थिक रूपले सम्पन्न व्यक्ति थिए । तर उनी रुढिग्रस्त समाजका अर्का एक बलिया प्रतिनिधि पनि थिए । त्यसैले उनले आफ्ना छोराहरूलाई मात्र पढाए । अनि पवनकुमारीदेवीले चाहिँ आफ्ना दाजुभाइको किताब चोरीचोरी, लुकीलुकी पढेर आपूmलाई कखरामा पु¥याइन् । त्यसपछि उनी क्रमश: प्राथमिक कक्षाहरूका पुस्तक पढ्न पनि सक्षम हुन थालिन् । त्यही किशोर वयमा उनले भीष्मप्रतिज्ञा गरेकी थिइन् “अब म नारी शिक्षाका लागि समर्पित हुन्छु ।” त्यसपछि उनले घरघरमा गएर केटीहरूलाई लुकीलुकी कखरा सिकाउन थालिन् । यही कर्मले उनी किशोरावस्थामा नै गाउँकी गुरुमा बनिसकेकी थिइन् । त्यसैले उनको त्यही बेलाको मन फक्रेर कालान्तरमा एउटा सार्थक प्रतिविम्ब बन्यो नवलपरासीको ‘पवन माध्यमिक विद्यालय’ ।
पवनकुमारीदेवीको जन्म संवत् १९६९ साउन १७ गते पाल्पास्थित मेलधारामा भएको थियो । शेषनारायण श्रेष्ठ र मुनीन्द्रकुमारीदेवी श्रेष्ठका चार छोरी र दुई छोरामा उनी माइली छोरी थिइन् ।
पवनकुमारीदेवीको बिहे सत्र वर्षको उमेरमा भएको थियो । परासीका जुलुमबहादुर श्रेष्ठले आफ्नी साली पवनकुमारीदेवीलाई भियभयाउनु चार वर्षअघि पवनकुमारीदेवीकै दिदी बिन्दुकुमारीदेवीसँग बिहे गरेका थिए । दिदीको निधनपछि भिनाजुसँग उनको दाम्पत्य जीवन बाँधिएकोे थियो । सम्पन्न शेषनारायण श्रेष्ठले आर्थिक रूपमा विपन्न जुलुमबहादुर श्रेष्ठलाई पुन: कन्यादान गरेका थिए । जुलुमबहादुर श्रेष्ठले म्याट्रिकुलेसन पास गरेका थिए ।
पवनकुमारीदेवी एउटा गरिबको परिवारमा अकस्मात् पसे तापनि उनीभित्र केही गर्ने साहस थियो, सेवाका लागि जाँगर थियो र पतिप्रतिको समर्पण थियो । त्यसैले वैवाहिक जीवनको आरम्भदेखि नै उनी हौसलाका साथ आफ्नो जीवनचर्यामा जुटिरहिन् । उनको मिलनसार स्वभाव, सक्रियता र उत्साह त्यस घडी जुलुम निवासको शक्तिमा रूपान्तर भएको थियो । त्यस घडी जुलुमबहादुर श्रेष्ठ माल कार्यालयका डिठ्ठा थिए । साथै उनी आयुर्वैदिक र होमियोप्याथिक विषयका स्थानीय चिकित्सक पनि थिए । उनले आधुनिक औषधीविधिबाट पनि उपचारको काम गर्थे । उनले आपूmलाई यी तीनै थरी औषधीमूलो गर्नेमा परासीमा नाउँ चलाएका थिए ।
पवनकुमारीदेवी र जुलुमबहादुरले दुई छोरा प्रकाशचन्द्र र ज्ञानेन्द्रचन्द्र जन्माए । अनि उनीहरू मिलेर तीन छोरी अम्बिका प्रधान, विजयालक्ष्मी जोशी र इन्दिरा जोशीलाई पनि पृथ्वी देखाए । उनका छोरामध्ये जेठा प्रकाशचन्द्र श्रेष्ठचाहिँ उनका छोरालाई संयुक्त राज्य अमेरिकामा डीभीको चिट्ठा परेका कारण उतै बस्न थाले । अनि कान्छा छोरा ज्ञानेन्द्रचन्द्र श्रेष्ठ ललितपुरको कोपुन्डोलमा अर्थोपेडिक सेवामा आबद्ध भए । ज्ञानेन्द्रले कृत्रिम हातखुट्टा बनाई जडान गर्ने कामबाट नाउँ पनि चलाए । उनले आमाकै समाजसेवाको बिँडो समाएर यस मार्गमा पाइला चलाइरहेका छन् । साथै पवनजुलुमका तीनबहिनी छोरीहरू पनि सम्पन्नताका साथ आआफ्ना घरबारमा जीवन व्यतीत गरिरहेका छन् ।

पवनकुमारीदेवी सानैदेखि गीत लेख्थिन्, भजन लेख्थिन् अनि आपैmँ भाका हालेर लोकगीत गाउने र त्यही तालमा नाच्ने पनि गर्थिन् । उनी गाउँका सार्वजनिक मञ्चहरूमा उभिएर पनि गीत गाउँथिन्् । साथै उनी तबला र हार्मोनियम बजाउने पनि गर्थिन् ।
पवनकुमारीदेवीको गृहप्रवेशपछिको हरेक साँझ जुलुम निवासमा भजनकीर्तन हुन्थ्यो । हरेक साँझ उनका घरमा भजन सुन्न गाउँलेको भीड लाग्थ्यो । पवनजुलुमको धार्मिक कृत्यले त्यस घडी परासी रङ्गिएको थियो । पवन बाँचुन्जेल त्यस रीतले कहिले लिक छोडेको थिएन ।
पवनकुमारीदेवी ठट्टा रमाइलो गर्नमा पनि पहिलो दर्जाकी महिला थिइन् । उनी गाउँले केटीहरूलाई कथा सुनाएर रुवाउने पनि गर्थिन् र हँसाउने पनि गर्थिन् । त्यति मात्र होइन; गाउँठाउँको झैझगडा र मुद्दामामिलामा पनि उनी पुरुषसरह अघि सरेर पैmसला गर्थिन् । त्यस घडी उनले बोलेपछि त्यो वाक्य ढुङ्गाको अक्षर हुन्थ्यो किनभने उनी न्यायिक र इमानदार पनि थिइन् । त्यस ठाउँमा सबैले उनका वचनको मर्यादा राख्थे ।
पवनकुमारीदेवीको सोखको विषयचाहिँ हात्ती चढ्ने थियो । त्यसो त उनी प्राय: घोडा चढ्ने गर्थिन् । धेरैजसो घोडा चढेर नै उनी गाउँघर घुम्ने गर्थिन् । हात्तीमा पनि उनी बेलाबखत सवार गर्थिन् । अनि उनको अर्को विशेष सोखचाहिँ सिकार खेल्नु थियो । उनी काँधमा बन्दुक भिरी घोडामा चढेर सिकार खेल्न वनजङ्गल जान्थिन् ।
पवनकुमारीदेवी सानैदेखि उपकारी,ं दयालु र मायालु थिइन् । कुनै महिलाले दुक्ख देखाए भने उनी आफ्नै लुगा खोलेर पनि दिन्थिन् र कुनै महिलाले उनीछेउ पुगी खान पाइन भनी दुःख देखाउँदा उनी आफ्नै गाँस काटेर पनि खुवाउँथिन् । दिलैदेखि उनी समाजसेवाकी नमुना थिइन् । उनको सेवा गाउँघरमा समर्पित थियो । उनी अर्काकै हितमा निःशुल्क खट्ने गर्थिन् । गाउँघरका आइमाईले नानी पाउन सकेनन् भने उनी महिलाका बच्चादानीभित्र हात हालेर बच्चा निकाल्ने पनि गर्थिन् । स्थानीय गाउँठाउँमा उनी सुडेनी दिदी भनेर पनि चिनिन्थिन् ।
पवनकुमारीदेवी कथा, कविता र निबन्धलेखनमा रुचि राख्थिन् । आपूmले स्थापना गरेको स्कुलमा आयोजित साहित्यिक गोष्ठीमा उनी आपूm पनि रचना पाठ गरेर अरूलाई प्रोत्साहन दिन्थिन् । किशोरावस्थादेखि लेख्तै जाँदा उनले एउटा ‘प्रतिज्ञा’ नामको उपन्यास पनि लेखिन् । तर त्यस उपन्यासलाई प्राय: पाठकले हेर्न पाएनन्; किनभने त्यो उपन्यास ज्यादै अशुद्ध छापिएकाले जुलुमबहादुर श्रेष्ठले सो उपन्यासका पन्ना च्यातेर औषधीको पुरिया बनाएर सिद्ध्याए । यसबारे ज्ञानेन्द्रचन्द्र श्रेष्ठ भन्छन् ‘‘आमाका एक हजारप्रति पुस्तक बुबाले औषधीको पुरिया बनाएरै सक्नुभयो ।’’ त्यस उपन्यासको प्रथम प्रकाशन मितिचाहिँ अहिलेसम्म कसैले फेला पार्न सकेको पनि छैन ।
संवत् २०१७ सालमा पवनकुमारीदेवीको त्यही ‘प्रतिज्ञा’ उपन्यासको अर्को संस्करण निस्क्यो । १०० पृष्ठको यो उपन्यास पहिलोपटक प्रकाशित भएको भनी बनारसको नेपाली साहित्य मण्डलमार्फत प्रकाशनमा आयो । त्यस सन्दर्भमा उनले २०१६ साल वैशाख ३ गते सो उपन्यासको भूमिकामा लेखेकी थिइन्ः
‘‘…उत्साहको सञ्चार बढ्दै गयो र छपाउने लोभ थाम्न सकिन । छपाई पनि हालेँ तर छपाइसकेपछि पुस्तकको रूपमाथि आपैmँ विरक्त भएँ । पुस्तकमा भएका त्रुटिहरूको भरमार र मुद्रणदोषले यो पुस्तक नेपाली साहित्यजगत्मा उपहासस्पद ठहरिने आशङ्का हुन जाँदा त्यस संस्करणलाई छाप्ता लागेको खर्च नोक्सान सहेर पनि प्रचारित नगर्ने निश्चय गर्नुप¥यो । तर आफूले सिञ्चन गरी उमारेको यो फूलले नेपाली साहित्यरुपी बगैंचाको अलि पनि शोभा बढाउन पाएन भने आफ्नो परिश्रम पनि खेर जाने भएको देख्ता यसको पुन: मुद्रण गर्ने लोभ थाम्न सकिन । पुन: मुद्रण गर्न यस पुस्तकमा लेख्ता भएका अनेक त्रुटि दोषको परिमार्जन गर्न यसलाई संशोधन र परिवद्र्धन गर्नु आवश्यक थियो । यसमा पनि केही समय लाग्यो । यस कार्यमा मलाई भानिज काशीबहादुर श्रेष्ठ (सम्पादक ‘उदय’) बाट जो मद्दत मिल्यो भनिनसक्नु छ । उनले आफ्नो धेरै दिनको समय दिएर यस पुस्तकको संशोधन, परिमार्जन र परिवद्र्धन गरी शब्दालङ्कार जडेर राम्रो बनाउनमा जो मद्दत दिए त्यसका लागि भानिजलाई धन्यवाद नदिइरहन सक्तिन । भानिज काशीबहादुर श्रेष्ठकै परिश्रमको फलस्वरूप यो पुस्तकले यति राम्रो, रोचक र आफ्नो विशिष्ट स्थान राख्न सक्ने रूप लिएर मेरो आफ्नो धोको पनि पूरा गरेको छ, यसैमा मलाई खुसी लागेको छ ।
यो पुस्तक सत्य घटनाको आधारमा लेखिएको छ । रोचकता बढाउन कतैकतै कल्पनाको भर लिनु परेको छ ।’’
पवनकुमारीदेवी नेपालीभूमिमा बसेर उपन्यास लेख्ने प्रथम नारी हुन्् । तर नेपाली साहित्यमा उपन्यास लेखनका हिसाबले उनी दोस्रो महिलामा गनिइन् । उनले आख्यानमा मात्रै हात हालिनन्, केही गीतिकविताहरू पनि लेखिन् । उनले २०४६ सालमा भजनसङ्ग्रह ‘बिन्दुभजनमाला’ पनि प्रकाशनमा ल्याइन् । ती भजनहरू प्राय: उनी आपैmँले नै गाउने गर्थिन् ।

प्रेमराजेश्वरी थापाले रचना गरेका प्रेमविषयक कविताहरूको चर्चा ‘शारदा’ कालमा सर्वत्र थियो । वास्तवमा त्यस कालमा उनले कविताका माध्यमबाट प्रेमका खुसी, पीडा र व्यथाले बेरिएका ज्वारभाटा लेखिन् । त्यसैले त्यति बेला जुनसुकै समालोचक पनि थापाकै काव्यका रसास्वादनमा खप्टन्थे । त्यसै क्रममा कुमारी थापाको सिर्जनात्मक
पवनकुमारीदेवीले नारीशिक्षामा आफ्नो सम्पूर्ण यौवन खर्च गरिन् । उनको सपना २०१९ साल पुस १६ गते साकार भएको थियो । त्यस दिन उनले परासीस्थित उनको आफ्नै जग्गामा पवन कन्या प्राथमिक पाठशाला स्थापना गरेकी थिइन् । सुरुमा त्यस स्कुलमा १२ जना कन्या विद्यार्थी थिए भने दुई जना गुरुमा सावित्री प्रधान र गायत्री उपाध्यायले सो स्कुल सञ्चालन गरेका थिए । त्यस स्कुलको स्तर क्रमश: बढ्दै जाँदा २०४५ सालदेखि त्यहाँ माध्यमिक स्तरको पढाइ पनि सञ्चालन हुन थाल्यो । त्यस स्कुलले २०५३ सालमा सरकारी मान्यता पनि प्राप्त गरेको थियो । त्यस दिन त्यस स्कुलका सम्पूर्ण शिक्षक र दुई हजार विद्यार्थी रमाएका थिए ।
पवनकुमारीदेवी गाउँठाउँमा आफ्नै सान, ढाँचा र स्तरीयतामा हिँड्ने गर्थिन् । उनको सेवाभावना जति उच्च थियो उनको व्यक्तित्व पनि त्यस्तै सादा देखिन्थ्यो । उनी औपचारिकताको पनि अगुवाइ गर्थिन् । उत्सवका बेला कसैलाई शुभकामना दिनुपर्दा उनी लिखित दिने गर्थिन् र दुक्ख र मरुमराइमा पनि लेखेर नै समवेदना प्रकट गर्ने गर्थिन् । उनको ग्रामीण व्यवहार पनि राजसी ठाँटको देखिन्थ्यो ।
पवनकुमारीदेवी हिँड्दा हाँस हिँडेझैँ ढल्कँदै हिँड्ने गर्थिन् । उनी मधुरो खानेकुरा रुचाउने गर्थिन् र लाउनमा पनि उनी विशेष सौखिन थिइन् । उनी जीउमा ढपक्कै सुनका गरगहना लगाउन रुचाउँथिन् । उनी सधैँ सुकिली भएर हिँड्ने गर्थिन् । उनका पछिपछि उनका पति पनि हिँड्ने गर्थे । वास्तवमा उनको समाजसेवामा जुलुमबहादुर श्रेष्ठले सदैव साथ दिए । तर पवनकुमारीदेवीलाई प्राप्त भएको त्यो साथ २०४१ साल कात्तिक १० गतेदेखि टुङ्गियो । भनूँ; त्यस दिन उनका पतिको इहलीला समाप्त भयो ।
पवनकुमारदेवीले बिहे गरेपछि चुरोट खान थालेकी थिइन् । चुरोट पनि उनी ठाँटैले नै खान्थिन् । उनी हरेक साँझ आपैmँले बनाएको रक्सी खान्थिन् । जीवनको उत्तरार्धमा रक्सी र चुरोटले उनको जीवनसँग मित लगाइसकेका थिए । त्यही कारणले उनलाई अल्सर पनि भयो र त्यही निहुँबाट उनको स्वर्गारोहण भयो । उनी २०४७ साल असार ६ गते बुधबार परासीमा स्वर्गीय भइन् ।
पवनकुमारीदेवी नेपाली साहित्यमा नअस्ताउने तारा बनिन् । उनको त्यस बेलाको कृतित्वले नेपाली भाषासाहित्यको भूगोलमा उनी सधैँ बाँचिन् । नारीहरूका लागि अन्धकारमय युगमा पनि उनले कलममसीसँग हृदय जोडेकाले उनी नेपाली उपन्यासका फाँटमा सधैँ जीवित बन्न पुगिन् ।

Rabins Sharma Lamichhane
Rabins Sharma Lamichhane

Rabins Sharma Lamichhane is the owner of RabinsXP who is constantly working for increasing the Internet of Things (IoT) in Nepal. He also builds android apps and crafts beautiful websites. He is also working with various social services. The main aim of Lamichhane is to digitally empower the citizens of Nepal and make the world spiritually sound better both in terms of technology and personal development. Rabins is also the first initiator of Digital Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *