Uncategorized

नारीचुली – चन्द्रकान्तादेवी


चन्द्रकान्तादेवी सानैदेखि सुकिली थिइन् । उनको तन जति सुकिलो थियो उनको मन पनि त्यत्तिकै सङ्लो थियो । सौन्दर्यको हिसाबमा भन्ने हो भने उनी टकटकाउँदी थिइन् । उनी जति हे¥यो त्यति नै हेरिरहूँजस्ती राम्री, सुन्दरी र हिसी परेकी थिइन् । त्यसैले उनलाई हेरेर त्रूmर राणाशासक पनि बुहारीझार हुन्थे । उनको रूप, रङ र पोसाक अनि उनको हाउभाउ चमत्कारी देखिन्थ्यो । त्यसैले एक पटक श्री ३ महाराज जुद्धशमशेरले हजुरिया जर्नेल सिंहशमशेरलाई हुकुम गरे “चन्द्रकान्ता जोशिनीका काम केके छन् गरिदिनू ।” त्यस बेला श्री ३ महाराजको त्यस्तो हुकुम हुनु भनेको जनताका लागि जिउँदै स्वर्ग पुगेजस्तो मानिन्थ्यो ।
चन्द्रकान्तादेवीले जुद्धशमशेरलाई रिझाएर काठमाडौंमा कन्या स्कुलको स्थापना गरिन् । उनको त्यो साहस, त्यो हिम्मत र त्यस करामतबाट धेरै मान्छे चकित परे । चन्द्रकान्ता जोशिनीले स्कुलको स्थापना गरेपछि सो स्कुलको पाठ्यपुस्तकसमेत लेखिन् ‘गृहलक्ष्मी’ । संवत् १९९२ मा प्रकाशित सो प्रबन्धसङ्ग्रह जुद्धशमशेरलाई समर्पण गर्दै यसमा निज श्री ३ को तस्बिरसमेत राखिएको छ । सो प्रबन्धसङ्ग्रहमा लेखिकाद्वारा नारीहरूको दैनिक जीवनका ज्ञान, सीप, विद्या, नीतिका उचित बेहोरा खामिएका छन् ।
चन्द्रकान्ता जोशिनीका नाउँमा १९९६ सालमा जनमाझ आएको अर्को प्रबन्धसङ्ग्रह हो ‘गृहस्थाश्रम धर्मशिक्षा’ । यस कृतिको आवरणमा नै श्री ३ जुद्धशमशेरको तस्बिर छापिएको छ । गृहस्थाश्रमको उपयोगिता, विवाहको अर्थ र प्रयोजन, मनुष्य जीवनको उद्देश्य र मातृत्व विषयलाई यस कृतिमा समेटिएको छ ।
चन्द्रकान्ताको जिन्दगानीको नालीबेली चाहिँ उनीद्वारा लेखिएको ‘मेरो आत्मकथा’ (२०३६) मा समेटिएको छ । नेपाली साहित्यमा आत्मकथा डेढ दर्जन पनि नपुगेको सन्दर्भमा चन्द्रकान्ता प्रथम नारी आत्मकथाकारका रूपमा प्रस्तुत भएर उनले नेपाली आत्मकथाको इतिहासमा आपूmलाई स्थापित गरेकी छिन् । सरल भाषा, मीठो शैली र निर्भीक विचार उनको आत्मकथाको आत्मा हो । त्यसैले उनी चर्चितमाथि थप चर्चित भइन् र प्रसिद्धमाथि सुप्रसिद्ध भइन् । तत्कालीन समयमा उनीद्वारा लेखिएका कृतिले उनलाई नेपाली भाषासाहित्यमा नअस्ताउने तारा बनाएका छन् ।
चन्द्रकान्तादेवीका बुबा माधवराज जोशी नामी ज्योतिषी थिए र आमा रत्नकुमारी गृहिणी थिइन् । चन्द्रकान्ताको जन्म संवत् १९५५ पौषशुक्ल पञ्चमीका दिन पाटनको बकुंबहालमा भएको थियो । त्यसै वर्ष नै उनका बुबाले पाटनमा ‘आर्यसमाज’ को स्थापना गरेका थिए । त्यस संस्थाको स्थापना नै जोशीपरिवारको नाशको बाटो पनि बन्न पुग्यो । त्यही डोरी बाटिँदै जाँदा जोशीलाई राणासरकारले रक्ताम्मे पा¥यो, मानसिक यातना दियो र नेलसहित जेल हाल्यो । त्यसपछि जोशीपरिवार एक्कासि आर्थिक सङ्कटमा भास्सियो । त्यतिमात्र होइन माधवराज जोशीका परिवारलाई पानी काड्नेदेखि समाज बहिष्कार गर्नेसमेत काम भयो । साथै उनका छोराहरू अमरराज, शुक्रराज र वाक्पतिराज पढ्दै गरेका दरबार स्कुलबाट निकालिए । त्यसपछि चन्द्रकान्ता पनि आमा र दाजुहरूसँग तत्कालै काठमाडौं उपत्यकाबाहिर लागिन् ।
१९६४ सालको आखिरीतिर चन्द्रकान्ताहरू वीरगन्ज पुगे । त्यहाँ उनीहरूसँग सामान्य किसिमका लाउने र सुत्ने कपडाबाहेक सम्पत्तिका नाउँमा फुटीकौडी थिएन । त्यसै बेलाको प्रसङ्गमा उनले भनेकी छिन् “बाँच्नका निम्ति रछ्यान चाट्नुपर्छ भने पनि हामी बाध्य थियौँ ।” बलियी र मोटी भएका कारण त्यस बेला यिनकी आमाले ढिकीमा धान कुटेर पनि छोराछोरीको प्राणरक्षा गरिन् ।

काठमाडौं सहरमा चन्द्रकान्ताका व्यक्तित्वको रौनक नै बेग्लै हुन गयो । राणाहरूसँग पनि खुलस्त बोल्न सक्ने क्षमता भएकी र प्रमुख गुरुमासमेत हुँदा उनी झनै चमत्कारी देखिइन् । त्यस घडीको वस्तुस्थितिलाई उनले आफ्नो
बेलाको स्थितिका बारे चन्द्रकान्तादेवीले आफ्नै आत्मकहानीमा लेखिन् “…हामीहरू गोरखपुर, लखनउ, देहरादून, मुसुरी, गढवालजस्ता ठाउँमा भतुवा लाग्दै हिँड्न थाल्यौँ ।”
माधवराज जोशी सपरिवार देहरादून पुगे । त्यहाँ उनका छोराहरू क्रमश: अमरराज मेरठस्थित स्वामी तुलसीदासकहाँ पढ्नका निम्ति गए, शुक्रराज स्वामी अच्युतानन्दको शरणमा देहरादूनमा नै बसे अनि वाक्पतिराजचाहिँ सिकन्दरवादमा रहेको गुरुकुल शिक्षा ग्रहण गर्न हानिए । चन्द्रकान्ताचाहिँ मेरठस्थित डा. रामचन्द्र कन्या पाठशालामा भर्ना भइन् । यी चारैवटा गुरुकुलमा खान, बस्न र पढ्न पैसा लाग्दैनथ्यो । त्यसैले जोशीपरिवारको जीवन धान्न ती स्कुलहरूले राहत दिएका थिए ।
चन्द्रकान्ता स्कुलमा भर्ना हुँदा नौ वर्षकी थिइन् । उनलाई एक्कैचोटि आमाको काख छोड्नु निक्कै गाह्रो थियो । त्यसैले उनलाई उनका बुबाले फुल्याउँदै भनेका थिए “हेर छोरी ! विदुषी भयौ भने मजासँग जीवनमा सुख भोग्न पाउने छ्यौ; कथंकदाचित् दुःखी भइहाल्यौ भने पनि तिमीलाई विद्याले सबै दुःखहरूलाई कालकूटसरह सहन गर्ने शक्ति दिनेछ ।” त्यस बेला चन्द्रकान्तालाई जबर्जस्ती स्कुल पठाइयो । उनी प्राय: सधैँ रोइरहन्थिन् ।
डा. रामचन्द्र भन्नु चन्द्रकान्ताका धर्मपिता झैँ प्रिय थिए । उनले पनि आफ्नी धर्मपुत्री र चन्द्रकान्तालाई बराबरी माया गरे । स्कुल छुट्नेबित्तिकै उनले ती दुवै केटीलाई प्राय: बग्गी चढाएर सहर घुमाउँथे । रामचन्द्रको पितृवत् स्नेहका कारण चन्द्रकान्ताको मन क्रमश: स्कुलमा गाँसिँदै थियो । तर उनी स्कुलमा भर्ना भएको केही वर्षमा डा.रामचन्द्रको चोला उठ्यो । त्यस प्रसङ्गलाई उनले आफ्नो पुस्तकमा पनि लेखिन् “अब कन्या पाठशाला फुङ्ग उडेको धर्तीजस्तै, डरलाग्दो भूतबङ्गला लाग्न थाल्यो । प्रेमको शीतल रूख नै गल्र्यामगुर्लुम्म ढलिसकेपछि अमृतको घडा नै पान गराइए पनि गुमेको प्रेमको मीठो स्वाद लिनु सम्भव थिएन । त्यस्तो स्थितिमा त्यहाँबाट पिण्ड छुटाउनु नै एक मात्र ओखती मैले पाएँ । मैले “मलाई लिन पठाउनुहोस्” भनी पिताजीलाई पत्र लेखेँ ।”
चन्द्रकान्ताको चिठी पढेर माधवराज जोशीले आफ्नी छोरी लिन पठाए । त्यस बेला जोशीचाहिँ दार्जिलिङको आर्यसमाजको अध्यक्ष थिए । दार्जिलिङ पुगेपछि चन्द्रकान्ताको पढाइका लागि जोशीको दौडधूप सुरु भयो । कुचविहारकी रानीद्वारा खोलिएको स्कुलमा बङ्गाली केटीहरूले मात्र पढ्न पाउने भए तापनि जोशीको अनुनयविनयका कारण चन्द्रकान्ताले सोही स्कुलमा भर्ना पाइन् । चन्द्रकान्ताले राम्रो स्कुलमा पढ्न त थालिन् तर उनको मनमा चाहिँ बादल लागेको थियो । त्यसै प्रसङ्गमा चन्द्रकान्ताले आफ्नो किताबमा लेखेकी छन् “ममाथि अब आत्मग्लानिको भवसागर खनिन आइपुेको थियो । सबै केटीहरू धनीका छोरीहरू मात्र हुनाले दिनदिनै नयाँ लुगामा चिटिक्क परेर पुतलीझैँ सिँगारिएर स्कुल आउँथे । म भने भीखमङ्गा झुम्राकी पुतलीसरहÓ । नोकरहरू उनीहरूलाई मीठास्वादिला खाजा लिएर आउँथे; म भने टिफिनका समयमा धारातर्पm दौडन्थेँ । अनि कलकली पानी पिएर टम्म अघाएको बहाना गरिदिन्थेँ । त्यस स्कुलमा अङ्ग्रेजी, बङ्गाली, संस्कृत, सङ्गीत, सिलाइ, बुनाइ, ड्रइङड्रिल सबै कुरा सिकाइन्थ्यो ।Ó बिस्तारै मभित्र जागृतिको नयाँ लहर नजानिँदो गरी उम्लिन थाल्यो । नेपालमा कन्या स्कुल छैन भन्ने वेदनाले मुटुमा चस्सचस्स घोच्न थाल्यो । म अठोट गर्दै जान थालेँ— नेपालमा पनि कन्या स्कुल नखोली छाड्दिनँ ।”
नेपाल छाडेको सात वर्षपछि माधवराज जोशीका परिवार पुन: नेपाल फर्किए । त्यस घडी जोशीलाई वीरगन्जमै छाडेर अरू सबै काठमाडौं उक्ले । चन्द्रकान्ताचाहिँ काठमाडौं आइपुगेर सर्वप्रथम आफ्ना बुबाका निम्ति माफी माग्न श्री ३ चन्द्रशमशेरका ढोकामा पुगिन् । दार्जिलिङको रहनसहनमा सिँगारिएकी सोह्र वर्षीय किशोरी गगल्स, हिलजुत्ता र नयाँ पहिरनका साथ राणाका दरबारमा पुग्दा राणाका कारिन्दादेखि मालिकसम्म मन्त्रमुग्ध भइसकेका थिए । त्यसैले माधवराज जोशीले १९७२ सालको आगमनसँगै सम्पूर्ण माफी पाए ।
चन्द्रकान्ताले चन्द्रशमशेरसमक्ष कन्या स्कुल खोल्न पाऊँ भनी फेरि बिन्ती गरिन् । तर चन्द्रशमशेरले उनको त्यस बिन्तीलाई जवाफ दिए “स्वास्नीमानिसहरूको स्कुल हुँदैन ।” चन्द्रशमशेरको मन दुख्ने वचन सुनेर चन्द्रकान्ता पनि उनको छायाबाट अलग्ग हुन चाहिन् ।
चन्द्रकान्ता चन्द्रशमशेरको शेषपछि श्री ३ भीमशमशेरनजिक पनि पुगिन् । तर काम पट्याउने बेलामा भीमशमशेरले प्राणत्याग गरे । त्यसपछि जुद्धशमशेर श्री ३ भए । अनि अनेक जुक्ति खियाएर उनी श्री ३ जुद्धलाई भेट्न नागार्जुन दरबार पुगिन् । चन्द्रकान्तालाई देख्नेबित्तिकै नागार्जुनको वन थर्काएर जुद्धशमशेर गर्जे “कन्या स्कुल खोल्छु भन्ने तिमी नै होइन त ?” चन्द्रकान्ताले जुद्धशमशेरसमक्ष झनै विनम्रता जाहेर गरिन् । अन्तत: श्री ३ जुद्धको निगाहले चन्द्रकान्ताले १९९० सालमा काठमाडौंमा कन्या स्कुल खोलिन् । त्यसपछि उनी जुद्धशमशेरकी झनै भक्त भइन् ।

डायरीमा पनि कोरेकी थिइन् “स्कुल जाँदा र फर्किंदा बाटामा मानिसहरू मलाई यस्तरी हेरिरहेका हुन्थे, मानौँ म पनि कुनै एउटी महारानी हुँ ।” त्यति बेला घरबाट बाहिर निस्कँदा उनी दसहाते सारी लगाएर हिँड्ने गर्थिन् ।
कन्या स्कुलमा नारीलाई आदर्श ज्ञान सिकाउने शिक्षा त छँदै थियो । त्यसका साथै काट्ने, बुन्ने, बेलबुट्टा भर्न सिकाउने स्कुलको प्रमुख कार्य थियो । सुरुमै त्यस स्कुलमा दुई सय विद्यार्थी पुगेका थिए । त्यस घडी त्यो स्कुल दिन दुई गुना र रात चौगुनाको हिसाबले प्रचारमा आयो । हुँदाहुँदै नेपालमा पहिलो उद्योग प्रदर्शनी भएका बेला त्यस स्कुलको पनि प्रमुख सहभागिता रहेको थियो । सो उद्योग प्रदर्शनीको श्री ३ जुद्धले नै उद्घाटन गरेका थिए र कन्या स्कुलका केटीहरूले उनको स्वागतमा स्वागतगान गाएका थिए । अनि गीतचाहिँ शुक्रराज शास्त्रीले लेखेका थिए:
जुद्ध ज्योतिको प्रकाश
स्वतन्त्र देशको विकास ।
जुद्धशमशेरको स्तुति गरेर गीत रचेको चार वर्ष नपुग्दै श्री ३ जुद्धले शुक्रराज शास्त्रीलाई झुन्ड्याउने हुकुम दिए । आफ्ना दाजु सहिद भएको घटनाले चन्द्रकान्ताको छाती काँक्राको चिराझैँ भयो । त्यस बेला उनी राणालाई सराप्तै र धिक्कार्दै डाँको छाडेर रोइन् ।
चन्द्रकान्ताको जीवन आरम्भदेखि नै घातैघातको èाृङ्खला बन्दै आयो । बिहे गर्न नचाहँदानचाहँदै उनी उमेश्वरलाल मल्लसँगको मायाजालमा फसिन् । उमेश्वरले चन्द्रकान्तालाई टुना गरे, मुना गरे, गीत लेखे, चिठी लेखे । उनले हरेक कसरत गरेर चन्द्रकान्तालाई आफ्नो प्रेमको माखेसाङ्लोले बाँधे । त्यसैले उनी अठार वर्षको उमेरमा मल्लकी उपपत्नी भइन् । तर बिहेको भोलिपल्टै उनका पति घरबाट भागे र बेपत्ता भए । त्यसपछि चन्द्रकान्ता केशरमहल पसिन् । तर उनी त्यहाँको रहनसहनमा भिज्न नसकेपछि उनले दार्जिलिङमा बसेका आफ्ना दाजु शुक्रराजलाई चिठी लेखिन् । शुक्रराजले पनि एउटा बिन्तीपत्र लेखेर उनलाई दरबार छोड भन्ने आदेश दिए । त्यसपछि चन्द्रकान्ता केशरमहलबाट बाहिर निस्किन् ।
दाजुहरूको लहैलहैमा लागेर चन्द्रकान्ता फेरि पतिविहीन घर पुगिन् । सुरुमा त्यहाँ उनलाई हरेक यातना दिँदा पनि उनले सहिन् । त्यस घडी उनलाई त्यहाँ कसैले बेस्या भने, कसैले उनको करङ खुस्काउने धम्की दिए र घरपरिवार मिलेर उनको जात पनि काढे । तर उनी रगतका आँसु पिएरै भए पनि त्यही घरमै बसिन् । चन्द्रकान्ता अनेक अपमान र तिरस्कार सहेर बस्ता पनि सौतालगायतको सानो जुलुसले उनलाई घोक्य्राएर घरबाटै निकाल्यो । त्यसपछि उनी फेरि माइतमै बस्न थालिन् ।
१९९६ सालमा उमेश्वरलाल मल्ल नायबसुब्बा भए । त्यस बेला एकातिर उनकी जेठी स्वास्नी बिरामी भइन् । अर्कातिर कान्छी स्वास्नी गुरुमाका रूपमा प्रसिद्ध भएकी थिइन् । साथै आफ्नी कान्छी पत्नीसँग श्री ३ जुद्धको न्यानो सम्बन्धको हल्लाखल्ला पनि उनका कानमा आइपुग्यो । त्यसैले बिहे गरेको चौबीस वर्षपछि उनले आफ्नी कान्छी पत्नीलाई कन्या स्कुल छाड्ने सर्तमा घरमा हुले । चन्द्रकान्ता पनि पतिको इच्छाबमोजिम आफ्नो प्राणप्रिय स्कुल छाडेर पतिका पछि लागिन् । तर घरमा प्रवेश गरेपछि उनलाई सबैले पुन: घृणा गरे, फेरि अपमान गरे र अछूतै राखे । उनकी सौता मरेपछि मात्र त्यस घरमा उनको हैसियत बढ्यो । उमेर छिप्पिएपछिको पतिसँगको सम्बन्धले गर्दा चन्द्रकान्ताका सन्तानचाहिँ भएनन् ।
चन्द्रकान्तादेवीको सामाजिक व्यक्तित्व उच्चकोटिको थियो । त्यसैले उनी २०११ सालमा श्री ५ त्रिभुवनबाट सल्लाहकार सभामा मनोनीत भइन् । त्यसपछि उनी २०१३ सालमा सोभियत रुसमा अन्तर्राष्ट्रिय युवा भेलामा सहभागी भइन् । साथै २०१५ सालमा उनी श्री ५ महेन्द्रबाट राजनीतिक पीडित सहायता समितिको सदस्यमा मनोनीत भइन् । यसरी बाँचुन्जेल उनी नेपाली समाजमा चर्चित भइरहिन् ।
चन्द्रकान्तादेवीले काठमाडौंमा आफ्ना दाजु शुक्रराज शास्त्रीका नाउँमा २०१८ सालमा स्कुल खोलिन् । उनी शहिद शुक्र विद्यालयमा २०२२ सालदेखि आठ वर्षसम्म प्रधानाध्यापिका भइन् । क्रमश: सो स्कुल भौतिक रूपले पनि सुसज्जित बन्यो । उनले आफ्ना गरगहना र सारा सम्पत्ति त्यही स्कुलमा लगेर खन्याइन् ।
चन्द्रकान्ताका पति २०३५ सालमा स्वर्गे भए । पतिको निधनसँगै उनको जीवनको एउटा पट्यारलाग्दो नाटकले पनि विश्राम लियो । त्यसपछिका दिनमा पनि सौताका छोरा परमेश्वरले उनलाई रुवाउनु रुवाए, दुक्ख दिनु दिए र सताउनु सताए ।
मैयाँ मल्लको भनाइअनुसार वृद्धावस्थामा पनि चन्द्रकान्तादेवी मल्ल जोसिली थिइन् । उनी काम गरेर थाक्तिनथिन् । अन्तत: यस भूमिको सेवार्थ जुट्ताजुट्तै २०४३ साल असार ३१ गते चन्द्रकान्ता

मल्ल स्वर्गीय भइन् । उनलाई मर्ने बेलामा चौथो श्रेणीको गोरखादक्षिणबाहु पनि भिराइयो । उनले विभिन्न सामाजिक सङ्घ संस्थाहरूबाट थुप्रै अभिनन्दनहरू पाइसकेकी थिइन् । वास्तवमा जसले जे दिए पनि र कसैले केही नदिए पनि चन्द्रकान्तादेवी मल्लको छोटो परिचय भन्नुपर्दा उनी नेपालकी सबैभन्दा ठूली शिक्षासेवी नारी, प्रथम प्रधानाध्यापिका र आत्मकथा लेख्ने प्रथम नारीका रूपमा प्रतिष्ठापित भइन् । यिनै योगदानका कारण उनी नेपाली नारीहरूमा अमर पनि बनिन् ।
…………………………………….
मेरठको कन्या पाठशालाका संस्थापक दम्पती डा.रामचन्द्र र ज्वालादेवीका आफ्ना सन्तान थिएनन् । उनीहरूले त्यहाँ विद्यालय स्थापना गरी झन्नै छ करोड रुपियाँको सम्पत्ति पनि त्यस विद्यालयलाई दान दिएका थिए । त्यहाँ अनाथ कन्यालाई मात्र पढाइन्थ्यो; तर त्यहाँ भर्ना भइसकेका नानीहरूलाई धनाढ्यका छोरीझैँ ठाँटिला बनाइन्थ्यो । अनि त्यहाँका कन्याको बिहे पनि त्यस्तै वर खोजेर धूमधामका साथ गराइन्थ्यो ।

Rabins Sharma Lamichhane
Rabins Sharma Lamichhane

Rabins Sharma Lamichhane is the owner of RabinsXP who is constantly working for increasing the Internet of Things (IoT) in Nepal. He also builds android apps and crafts beautiful websites. He is also working with various social services. The main aim of Lamichhane is to digitally empower the citizens of Nepal and make the world spiritually sound better both in terms of technology and personal development. Rabins is also the first initiator of Digital Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *