Uncategorized

अर्थपूर्णक्रान्ति: मेरी सासू – गणेशबहादुर प्रसाई

विगत तीस वर्षयता निरन्तर लेखन कार्य गर्ने र स्वयं स्थापित हुन पुग्ने प्रमुख साहित्य स्रष्टामध्ये एउटा नाउँ हो— इन्दिरा प्रसाई । उनको सबल लेखनी साहित्यका सबै विधामा समान रूपले चलेको पाइन्छ, तापनि समालोचकहरू भने उनको कथा र उपन्यास साहित्यको चर्चा गर्न विशेष रुचि देखाउँछन् । इन्दिरा प्रसाईको थप चिनारी खोज्नुपर्दा उनी विभिन्न साहित्यिक प्रतिष्ठानसँग सम्बन्धित छिन्, साहित्यिक कार्यक्रम सञ्चालिकाका रूपमा पनि उनी निक्कै चर्चित रहन गएकी छिन् । उनले गोरखापत्र संस्थानको प्रथम महिला अध्यक्ष हुने सौभाग्य पाएकी थिइन् तथा नेपाल सरकारको सल्लाहकारको गरिमामय पदमा पनि उनी आसीन भइसकेकी छिन् । त्यसबाट कुन निष्कर्ष निकाल्न सकिन्छ भने उनको व्यक्तित्वका ती सबै पाटामा उनी जति चर्चित छिन् त्योभन्दा कम चर्चित उनको सबल लेखनीबाट जन्मग्रहण गर्ने साहित्य पनि छैनन् । फलतः इन्दिरा प्रसाई नेपाली साहित्यको इतिहासमा स्थापित हुन आएका युवा कथाकारमध्ये एउटा सबल नाउँ हो ।

तिनै इन्दिरा प्रसाईले जीवनीपरक साहित्यको क्षेत्रमा प्रवेश गरेर ‘मेरी सासू’ शीर्षक दिई एउटा नयाँ कृति जन्माएको देख्न पाइयो । उनले आफ्नी सासू भागीरथा प्रसाईसँग हुने अन्तरङ्ग वार्ताका आधारमा तयार गरेको यस कृतिलाई नरेन्द्र र इन्दिराले पढेर सुनाउने कबोल गर्दा म जस्तो आँखा कमजोर भइसकेको मान्छे २०६४ भदौ महिनामा उनीहरूको घर घट्टेकुलोमा गएको थिएँ । त्यस दिन उनीहरूले पालैसित यस रचनाको पाठ गर्दा सुन्ने श्रोता दुई जना हामी आमाछोरा मात्र अर्थात् भागीरथा प्रसाई र म गणेशबहादुर प्रसाई मात्र थियौँ । नरेन्द्र र इन्दिराले प्रत्येक अनुच्छेद पढेर सुनाउँदा आमाले उनीहरूलाई रोकेर त्यहाँ लेखिएको मूलभूत कुराको जसरी मलाई व्याख्या सुनाउनुहुन्थ्यो त्यसलाई मनन गर्दा इन्दिरा त आमाको जीवनलाई भाषामा प्रतिबिम्बित तुल्याइदिने माध्यम मात्र बनिदिएकी रहिछन्; कृतिका कतिपय स्थलमा प्रस्तुत विचार र तर्क इन्दिराका विचार र तर्क हुन् भन्ने भ्रम हाम्रो मनमा उत्पन्न हुने जुन स्थल त्यस कृतिमा पाइन्छन् ती स्थल पनि इन्दिराका होइनन् आमाकै आफ्नो विचार र तर्क रहेछन् भन्ने जुन विश्वास त्यस दिन मेरा मनमा उत्पन्न भयो त्यो विश्वास आज पनि मेरो मनमा जस्ताको तस्तै छ, ताजै छ । यी सबै कारणले गर्दा कुन कुरा म किटान गरेर भन्न सक्तछु भने ‘मेरी सासू’मा इन्दिरा कलात्मक योजना र भाषा प्रदान गर्ने लेखिकाका रूपमा मात्र सीमित रहेकी छिन् । त्यस कृतिमा सर्वत्र आमा भागीरथा प्रसाई मात्र व्याप्त बन्न पुग्नुभएको छ । त्यही नै यस कृतिको चरम प्राप्ति र सफलता पनि हो भन्ने मलाई लाग्दछ । जीवनीसाहित्यमा नभइनहुने आवश्यक गुण पनि त्यही हो ।

‘मेरी सासू’की नायिका श्रीमती भागीरथा प्रसाईका नौ दशक लामो जीवनको कथाव्यथालाई मनन गर्दा राणाकालीन नेपालको खस बाहुन समाजका आमाबाबुले “सके घर खा, नसके नदीमा डुबेर मर्” भनी बालखैमा घर पठाइने छोरीको प्रतिनिधित्व हाम्री आमा भागीरथा प्रसाईले गरेको देख्न पाइन्छ । तापनि जीवनका सबै प्रकारका हाँकलाई स्वीकार गर्दै झेल्दै अघि बढ्दा कहीँ पनि कस्तै आपत आइपर्दा पनि यी नायिका कात्रिएकी फेला पर्दिनन् । सिंहिनीले जस्तै उनले पनि एक्लै जीवनभर आफ्नो परिवारको दायित्व निर्वाह गरेकी देखिन्छिन् । त्यो कार्य सम्पन्न गर्दा पनि आफ्नो परिवारका सदस्यमध्ये को कृतज्ञ रह्यो र को कृतघ्न रह्यो भन्ने कुरापट्टि उनी अल्मलिएकी छँदै छैनन् । जीवनलाई जीवनकै रूपमा ग्रहण गर्ने उनको बृहत् चाहनाले गर्दा उनीप्रति हाम्रा मनमा श्रद्धा उत्पन्न हुन्छ । हाम्रा पौरस्त्य नारीको महिमा भन्नु पनि त्यही हो ।

‘मेरी सासू’मा भागीरथा प्रसाईको यथार्थ जीवनको कथाव्यथा पढ्न पाइन्छ । इन्दिराले त्यस यथार्थ कथाव्यथालाई आफ्नो चिर परिचित यथार्थवादी शैलीमा उतारेकी छन् । उदाहरणार्थ यस कृतिमा नायिकाका छभाइ छोराको चरित्र जुन ढङ्गले उतारिएको छ त्यसलाई लिन सकिन्छ । ती छभाइमध्ये मातृभक्त अन्तरे छोरो नरेन्द्रको चित्रण इन्दिराले यस कृतिमा यसरी गरेकी छिन्, “आमाका पाउमा आफ्नो शिर पु¥याएपछि नरेन्द्रको हरेक दिनको कार्यक्रम आरम्भ हुन्छ । उहाँ आफ्नी आमालाई नढोगी पानी पनि खानुहुन्न । त्यति मात्र होइन उहाँ जति नै व्यस्त भए तापनि आमालाई पनि आवश्यक समय दिनुहुन्छ । आमासँगै बसेर खाने, दिउँसो एक पल्ट केही समयका लागि भए पनि आमाका छेउमा बस्नुपर्ने र सुत्नुअघि राति पनि आमासँगै केहीबेर दुख्खसुख्खका बात मार्ने नरेन्द्रको आमाप्रतिको दैनिक तालिका हुने गर्छ । साथै आमाको खानपिनप्रति निगरानी राख्ने, लगाउने लुगाको हिसाब राख्ने र साँझमा आमाको ओछ्यानको व्यवस्थापनमा समेत ध्यान दिने कामबाट पनि नरेन्द्र चुक्नुभएको मलाई थाहा छैन ।” यो हो इन्दिराको यथार्थवादी शैलीको एउटा सुन्दर नमुना । भनेकै पनि छ : “भिन्न रुचिर्हि लोकाः” ।

यस कृतिकी नायिका भागीरथा प्रसाईको जन्म आठराई ईबामा बस्ने प्रेमलाल उप्रेतीकी छोरीका रूपमा भएको थियो । उनी आफ्ना समयका तेजस्वी पुरुष थिए । धनकुटामा आउँदा जाँदा र त्यहाँ बस्दा उनको आठराई हाङपाङ बस्ने च्यादरघरे मुखिया अर्थात् नरध्वज प्रसाईसँग गहिरो मित्रता कायम भएको थियो । त्यस्तैमा नरध्वजकी पत्नीले छोरो र प्रेमलालकी पत्नीले छोरी सँगसँगै जन्माइदिँदा ती दुवैका मनमा सम्धी बन्ने रहर जाग्यो र कालान्तरमा ती दुई भाइ पुरानो बोल कबोलअनुसार सम्धी बन्न पुग्दा नरध्वजका साइँला छोरा जयप्रसाद र प्रेमलालकी साइँली छोरी भागीरथा पतिपत्नीमा परिवर्तित हुन पुगे । त्यसरी उच्च संस्कारयुक्त माइतीमा हुर्केबढेकी भागीरथा त्यस्तै उच्च संस्कारले परिपूर्ण त्यस बेलाका प्रख्यात धर्मपुरुष नन्दमणि प्रसाईकी नातिनीबुहारीमा परिवर्तित हुन पुगेकी हुन् । त्यसैले प्रसाईकुलमा गाँसिन पुगेकी भागीरथा पनि आफ्नी बूढी सासू नन्दमणिकी कान्छी पत्नी र आफ्ना चारभाइ ससुरा जस्तै कालान्तरमा च्यादरघरे मुखिनीका नाउँले इलाकाभर नै प्रख्यात बन्न पुगेकी थिइन् ।

बालककालमा च्यादरघरे प्रसाईमध्ये भागीरथा प्रसाई र जयप्रसादको बीचमा रहेको अनौठो रोमाञ्चक र अलौकिक प्रेमको कथा सुनाउनेले सुनाउँदा म सुन्दथेँ । कालान्तरमा आठराईमा आफ्नो बास साह्रै नभएकोले जिज्ञासु हुँदाहुँदै पनि मैले ती दुई जोईपोइको अलौकिक प्रेमपक्षको यस जीवनीपरक कृतिमा पाइने रिमरिमे छायाभन्दा बढ्ता केही पनि थाहा पाउन सकिनँ । सामाजिक प्राणीका तहमा रहेर जीवन काटेकी मान्छेले आफ्नो नितान्त प्रिय र गोप्य व्यक्तिगत जीवन पक्षलाई नखोल्नु स्वाभाविकै पनि हो भन्ने लाग्छ ।
भागीरथा प्रसाईको जीवनलीला अनौठो छ र एक दृष्टिमा कहाली लाग्दो पनि छ । नाबालक अवस्थामै च्यादरघरे परिवारमा प्रवेश गर्दा उनका पति जयप्रसाद नाबालक नै थिए । उमेरलाई नसुहाउने हिसाबले बूढापाखा मान्छेले जस्तो ज्ञानगुनका कुरा मात्र गर्ने भएकोले त्यस संयुक्त परिवारका सबै सदस्यले जयप्रसादलाई जिजु भनेर बोलाउने गर्दथे । च्यादरघरे बूढी मुखिनी अर्थात् नन्दमणि प्रसाईकी कान्छी पत्नी अधवैँसे उमेरमै आफ्नो र आफ्ना चारभाइ छोराको अंश थापी अलग भएकीले उनको त्यस बेला ठूलो धाक थियो, रवाफ थियो । आफ्ना चारभाइ छोरा र तिनका पत्नीमाथि पहिलेदेखि नै एकछत्र शासन चलाउँदै आएकी ती बुढिया अघिल्तिर पर्दा भागीरथाका सासू र ससुरा त हच्कन्थे भने नातिनीबुहारीको कुन हविगत हुन्थ्यो; त्यसको सहज कल्पना गर्न सकिन्छ । बूढी मुखिनीको मृत्यु भएपछि उनका चारभाइ छोरा अंश गरेर अलग भएपछि बल्ल नरध्वज परिवारको बुहारी भएर उनले सानो सङ्ख्या भएको परिवारकी सदस्य हुने सौभाग्य पाइन् । त्यस सानो परिवारमा दुई दर्जनभन्दा केही बढी सदस्य हुँदा हुन् । त्यस परिवारकी सदस्य भएपछि उनका जीवनमा दुईवटा आघात पर्न आए ः एक उनकी सासूले जिजु भागीरथाप्रति बढ्तै आशक्त रहेको देखिन्, सहन सकिनन् र छोरालाई अर्की केटी बिहे गर्न बाध्य तुल्याइन् । अर्को कुरा बूढी सासूका पालामा भन्दा आफ्नी सासूका पालामा बुहार्तनको भारी धेरै गह्रौँ र कठिन पनि भयो, ती दिन पनि बिते ।

हाम्री नायिकाको कान्छी सासू अर्थात् जेठाजु मानबहादुर प्रसाई र जेठाजु खडानन्द प्रसाईको परिवार अंश लिई अलग हुँदा जयप्रसाद प्रसाईको परिवार पनि अलग भयो । अब त सुखका दिन आउँछन् कि भन्ने लागेको त्यसै समयमा मानबहादुरकी आमा अर्थात् हाम्री नायिकाकी कान्छी सासू र उनको आफ्नै जीवनमा अकल्पनीय आघात पर्न आयो । के भने अकस्मात् मानबहादुर प्रसाई घरबाट निस्की बेपत्ता भए अनि हाम्री नायिकाका पति पनि खग्रास ग्रहण लागेको चन्द्रमा बन्न पुगे । अनि आजीवन आफ्नी पत्नी भागीरथाप्रति अलौकिक प्रेमवर्षण गर्ने प्रेमीका रूपमा बाहेक अन्य दृष्टिमा उनी विदेह नै रहे तथा त्यत्तिकै मुक्त भए भन्नुपर्छ । हाङपाङको समाजसँग त्यसपछि उनको कुनै प्रकारको सम्बन्ध भएन । फलतः हाम्री नायिकाले आपैm पत्नी र आपैm पति बनेर आफ्नो जीवन धान्न कर लाग्यो । यी सबै कुरालाई मध्यनजरमा राखेर नै होला, आफ्नी सासूको चर्चा गर्नुपर्दा इन्दिरा लेख्छिन् :

“मेरी सासू भागीरथा प्रसाई ती महान् नारीको नाउँ हो, जसले आफ्ना जीवनका गहिरो चोट पनि समाज सामू कहिल्यै देखाउन चाहनुभएन । आपूm भित्रभित्रै सल्केर पनि परिवार र सन्तानका लागि “उप्m” पनि नभन्ने नारीहरूको यहाँ बाहुल्य छ । त्यसैले मलाई लाग्छ ‘मेरी सासू’ भित्र मैले प्रस्तुत गरेको कथा अधिकांश नेपाली ग्रामीण नारीहरूको कथा हो । भोगाइका क्रममा प्रायजसो नारीले भोगेका व्यथा नै ‘मेरी सासू’ हो भन्ने मेरो मान्यता छ ।” भागीरथा प्रसाईसँग परिचित मान्छे इन्दिरासँग सहमति जनाउँछन् किनभने त्यही यथार्थ सत्य हो ।

मैले मानबहादुर र जयप्रसादको जोडीलाई १९९४ सालमा उनीहरू मेरा पितालाई भेट्न भनी हाम्रा घर निघुरादिनमा आउँदा एक पटक देख्न पाएँ । त्यस बेलासम्ममा नरध्वज प्रसाईका ती दुईभाइ छोरा धनकुटा जिल्लाभर नै प्रख्यात भइसकेका थिए । बडाहाकिम माधवशमशेरका प्रिय पात्र बनिसकेका भर्खरका लक्का जवान भए पनि तेजस्वी पुरुषमा उनीहरूको गणना हुन थालिसकेको थियो । मानिस भन्थे— मानबहादुरको आँट, जिजुको बुद्धि; उनीहरूका अगाडि टिक्नकोे हो ? टलक्क टल्कने सेता दौरासुरुवाल र कालो कोट भिरेका ती दुई दाजुभाइ मध्यम कदका भए पनि पातलो शरीरका भएकाले सुहाउँदो, आकर्षक र अग्ला नै देखिन्थे । रातो वर्णका मानबहादुरका अगाडि गौर वर्णका हाम्रा जिजु थप कोमल स्निग्ध र आकर्षक लाग्थे । पछि मैले जीवनमा वी.पी. कोइरालाको सामीप्य प्राप्त गरेँ । उहाँसँग साक्षात्कार हुँदा मलाई जहिले सुकै पनि जिजुसँग भेट भएको झझल्को आउँथ्यो । किनभने १९९४ सालमा प्रथम पटक र २००९ सालमा दोस्रो पटक मैले देख्न पाएका जिजु प्रसाई र वी.पी. कोइराला उस्तै कलात्मक र चिटिक्क परेका अत्यन्त आकर्षक व्यक्तित्व थिए । एउटालाई देख्दा अर्कालाई देख्न पाएजस्तो लाग्ने । फरकचाहिँ के थियो भने एउटै वी.पी.मा मानबहादुरको आँट र दुस्साहस मात्र होइन जिजुको बुद्धि र धैर्य पनि थियो । फलतः जिजु मानबहादुर बिलाउनासाथ अपाङ्ग जस्ता बन्न पुगे । ती विद्वान्, वेदान्ती, सङ्गीतज्ञ एवं नर्तकले एकान्तको आश्रय ग्रहण गर्न पुग्दा त्यसै बिलाए; महामानव वी.पी. जस्तो उनी चम्कन सकेनन् । हामी जस्ता व्यावहारिक जगतका नरनारीका दृष्टिमा जे देखिए पनि हाम्री नायिकाको दृष्टिमा चाहिँ उनी वेदान्ती हुनाले महात्मा सिद्ध हुन पुगेका थिए । अनि एकान्तमा बसेर निद्र्वन्द्व जीवन भोग्ने ती पुरुषकी हाम्री नायिका एक मात्र प्रेमिका थिइन्, पत्नी थिइन् अनि जन्मेका छोराछोरीका पितामाता जे भने पनि उनी नै रहिन् । जसलाई भागीरथा प्रसाईले शिरोपर गरी जीवन काटेको देख्न पाइन्छ । भागीरथा प्रसाईको त्यो साहस, आँट र सङ्घर्षपूर्ण जीवनगाथालाई मनन गर्दा उनको प्रशंसा गर्न मन लाग्छ ।

जिजु अर्थात् जयप्रसाद प्रसाई मानबहादुर बेपत्ता हुनुभन्दा अगाडि र पछाडि पनि एउटा जिद्दीमा अडिएर बस्ने गर्थे । यसलाई भागीरथा पटक्कै मन नपराउने हुनाले आफ्नो राय बजाउँथिन् । उनी भन्थिन्— “तपाईंकी आमाले तपाईंको दोस्रो विवाह गरिदिएकी हुन् । त्यसमा त्यस केटीको के दोष ?” जयप्रसाद भन्थे— “त्यो केटी मेरी पत्नी होइन, आमाकी रहरकी पुतली हो । त्यससँग मेरो सम्बन्ध हुन सक्दैन ।” “त्यसो नभन्नुहोस् पतिका नाताले तपाईंले पतिधर्मको पालना गरिदिनुपर्छ ।” भागीरथाको आग्रह हुन्थ्यो । नभन्दै पछि उनले आफ्नी सौताको कोख सफल भएको देख्न पाइन् र आफ्नो मान राखिदिएकोमा प्रसन्नता प्रकट गर्दै आफ्ना पतिका दुवै पाउ हर्षाश्रुले पखाल्न पाइन् । आज पनि ‘मेरी सासू’की नायिका गर्वपूर्वक त्यो कुरा सम्झने र भन्ने गर्दछिन्: “हाम्री कान्छीको पनि कोख सफल भयो ।” उज्यालो न उज्यालो अनुहार लगाएर उनका मुखबाट त्यस्ता गर्वोक्ति सुन्दा मनमा लाग्छ— यस्ता उदारमना नारी यस पृथ्वीमा अझै पनि छन् र नै पृथ्वीमा मानवजाति अस्तित्वमान् छ । यस्ता कल्याणकारी र उदारवाणी अन्यत्र सुन्न कहाँ पाइन्छ । धन्य हुन् भागीरथा !
यस कृतिको अध्ययन गर्दा निम्न बुँदा स्वयमेव प्रकट हुन आइपुग्छन् :  एक— पारिवारिक विघटनको वर्तमान विश्व परिवेशमा इन्दिरा प्रसाईले ‘मेरी सासू’ नामक कृति हाम्रा अगाडि प्रस्तुत गरेकी छन् र यो कुरा स्वयंमा अत्यन्त अर्थपूर्ण सिद्ध हुन पुग्दछ । दुई— नेपालीसाहित्यको इतिहासमा जीवनीसाहित्यको जुन अनिकाल देखिन्छ त्यसलाई अवलोकन गर्दा नरेन्द्रराज प्रसाईले झैँ इन्दिरा प्रसाईले पनि जीवनीसाहित्य प्रदान गर्नु स्वयंमा महइभ्वपूर्ण सिद्ध हुन्छ । अझ नरेन्द्रले ग्रहण गरेका इतिहासआबद्ध पुरुष वा नारीको जीवनी लेख्ने मार्गको विपरीत समाजका अज्ञात नारीको जीवनी लेख्नु इन्दिराको विशिष्ट उपलब्धि हो, क्रान्ति हो समेत भन्न सकिन्छ । इन्दिरा ! तिमीलाई मेरो मुरीमुरी धन्यवाद, बधाइ र आशीर्वाद छ ।

धाइजन, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *